काठमाडौं, साउन १७ — फिटनेसलाई शिक्षाको रूपमा स्थापित गर्दै समाजमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्लासिक फिटनेस एकेडेमी ले नेपालमै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी “नेपाल फिटनेस एक्स्पो, २०८२” आयोजना गर्ने भएको छ।
रिगल इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गते, होटेल मल्ल, काठमाडौंमा हुने यो एक्स्पो फिटनेस क्षेत्रमा नेपालको सबैभन्दा ठूलो व्यावसायिक र शैक्षिक जमघट हुने अपेक्षा गरिएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको फिटनेस प्रदर्शनी गर्न लागिएको घोषणा गर्दै यसलाई “एक्स्पो मात्र नभई अभियान भएको बताए। उनका अनुसार, "फिटनेसलाई जीवनशैलीका रूपमा स्थापित गर्दै युवालाई सशक्त बनाउने र नेपाललाई फिटनेसको नयाँ युगमा प्रवेश गराउने अभियान नै नेपाल फिटनेस एक्स्पो हो।"
बृहत सहभागिता र आकर्षक कार्यक्रमहरू
यो एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण परामर्श, फिटनेस सामग्री, उपकरण, पोशाक, र हेल्थटेक इन्नोभेसन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहनेछ। साथै, फिटनेस अवार्ड शो पनि गरिनेछ जसअन्तर्गत राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट जस्ता चार प्रमुख विधामा सम्मान प्रदान गरिनेछ।
कार्यक्रममा भारत, मलेसिया लगायत अन्य एसियाली देशहरूबाट अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू जस्तै रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा, र जेर्री कान टान को सहभागिता रहनेछ। यस्तै, नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, र रजनी श्रेष्ठ समेत सहभागी हुनेछन्।
शैक्षिक सेमिनार, स्टल र नेटवर्किङको प्लेटफर्म
नेपाल फिटनेस एक्स्पोमा शैक्षिक सेमिनार र कार्यशालाहरू, ‘मिट एण्ड ग्रेट’ सेसनहरू, फिटनेस डेमो ट्रेनिङ, योगा, फेसन शो, वर्कसप, र मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन्। यसले व्यवसायी, प्रशिक्षक, प्रशिक्षार्थी, खेलाडी, र फिटनेसप्रेमीहरूलाई एउटै छातामुनि ल्याउने अपेक्षा गरिएको छ।
करिब ३,००० भन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको एक्स्पोमा नेपालभरका अग्रणी फिटनेस सेन्टरहरू, प्रोटिन सप्लिमेन्ट ब्रान्डहरू, र फिटनेस उपकरण आयातकर्ताहरूको पनि उल्लेखनीय उपस्थिति रहनेछ।
फिटनेसमा लगानी र व्यापारिक सम्भावनाको खुला अवसर
फिटनेस क्षेत्रमा व्यापार गर्न इच्छुकहरूका लागि यो एक्स्पो नेटवर्किङ, सम्भावित साझेदारी, लगानी तथा ब्रान्ड एक्स्पान्सन को प्लेटफर्म हुने आयोजकले बताएका छन्। नयाँ जिम सेन्टर खोल्ने योजना बनाएका, विदेशमा ट्रेनर बन्ने सोच बनाएका, वा फिटनेस सप्लिमेन्ट तथा उपकरण व्यापार गर्न चाहनेहरूका लागि यो इभेन्ट अत्यन्त उपयोगी हुने उल्लेख गरिएको छ।
संस्थापक शाहीका अनुसार, “नेपालमा ३०० भन्दा बढी जिम सेन्टरहरू छन्, तर आधिकारिक प्रोटिन सप्लिमेन्ट डिस्ट्रीब्युटर सातवटा मात्र छन्। ती सबैको उपस्थिति यो एक्स्पोमा सुनिश्चित गरिएको छ।”
फिटनेस उद्योगका लागि ऐतिहासिक अवसर
क्लासिक फिटनेस एकेडेमीले यस इभेन्टलाई नेपालको फिटनेस उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा पु-याउने ऐतिहासिक अवसरको रूपमा चित्रण गरेको छ। एक्स्पोको समापनमा सहभागीहरूलाई गिफ्ट, खेलकुद गतिविधि, र रमाइला सेग्मेन्टहरू मार्फत खाली हात नपठाउने तयारी गरिएको आयोजकले स्पष्ट पारेका छन्।
“फिटनेस भन्नासाथ मानिसले केवल बडीबिल्डरको चित्र मात्र देख्छन्, तर फिटनेस भनेको स्वस्थ जीवनशैली हो,” शाहीले भने, “यो एक्स्पोले त्यो मानसिकता परिवर्तन गर्न मद्दत गर्नेछ।”
01 August 2025