काठमाण्डौ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको पदको गरिमा, गणतन्त्रको प्रतिष्ठा र राष्ट्रिय राजनीतिको संवेदनशीलतालाई ध्यानमा राख्न आग्रह गर्नुभएको छ।
एमाले केन्द्रीय समिति बैठकमा सोमबार च्यासल पार्टी कार्यालयमा बोल्दै ओलीले आफू र भण्डारीबीच भएको कुराकानीबारे जानकारी गराउँदै पोलिटब्युरोको निर्णय र केही सुझावहरू पूर्वराष्ट्रपतिसमक्ष राखिएको बताए। भण्डारीले ती विषयमा सोचेर पछि धारणा दिने बताएको पनि उहाँले जानकारी दिनुभयो।
ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाममा अनावश्यक टिप्पणी वा प्रतिनिधित्व गर्न नचाहेको भन्दै पार्टीका नेता कार्यकर्तालाई "भण्डारीको प्रवक्ताको भूमिका नखेल्न" स्पष्ट चेतावनी दिनुभएको छ।
साथै, ओलीले पार्टीभित्र वैचारिक वा नीतिगत कुनै ठूला मतभेद नरहेको उल्लेख गर्दै, आन्तरिक एकता बलियो पार्न सबै केन्द्रीय सदस्यहरूलाई आह्वान गर्नुभयो। उहाँका अनुसार, सिङ्गो पार्टी संरचना एकताको भावनाका साथ अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता हो।
एमालेको केन्द्रीय समिति बैठक अझै भोलिसम्म जारी रहने कार्यक्रम रहेको छ।