बसवराजको हत्याको विरोधमा नेकपाको प्रतिरोध मार्च, भारतीय फाँसीवादविरुद्ध अन्तर्राष्ट्रिय प्रतिरोधको आव्हान

akabarenews.com

काठमाडौं, जेठ १४ - भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बला केशव राव बसवराज सहित २७ जना क्रान्तिकारी र आदिवासीहरूको छत्तीसगढमा भएको सामूहिक हत्याको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आइतबार काठमाडौंमा प्रतिरोध मार्च सम्पन्न गरेको छ ।

प्रतिरोध मार्चमार्फत नेकपाले भारतीय सरकारद्वारा सञ्चालित ‘अपरेसन कागर’ खारेज गर्न माग गर्दै भारतमा तिव्र बन्दै गएको फाँसीवादविरुद्ध अन्तर्राष्ट्रिय प्रतिरोध सञ्जाल निर्माणको आव्हान गरेको हो । कार्यक्रमलाई नेकपाका केन्द्रीय कार्यालय सदस्य तथा राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाका अध्यक्ष वर्षाले सम्बोधन गर्नुभयो ।

गत जेठ ७ गते (२०२५ मे २१) भारतीय संयुक्त सुरक्षा फोर्सले छत्तीसगढको नारायणपुरस्थित अबुझमाड क्षेत्रमा  बसवराज सहित २७ जना नेताहरूलाई घेराबन्दी गर्दै गोली हानी हत्या गरेको थियो । घटना लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘माओवादी खतरालाई निर्मूल पार्न भारत सरकार प्रतिबद्ध छ’ भन्ने विवादास्पद टिप्पणी गरेका थिए ।

यस घटनालाई नेकपाले “फाँसीवादी नरसंहार, साम्राज्यवादी-फाँसीवादी आक्रमणको नयाँ मोड र कम्युनिस्ट आन्दोलनमाथिको रणनीतिक आक्रमण” को संज्ञा दिएको छ ।

नेकपाका संयोजक क. वसन्तले जेठ ८ गते एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “फाँसीवादी मोदी सरकारले २०८२ जेठ ७ गते भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव वसवराज सहित २६ जना क्रान्तिकारी तथा आदिवासीहरूलाई योजनाबद्ध रूपमा नरसंहार गरेको छ । यसप्रति हाम्रो पार्टी गहिरो शोक, घोर भर्त्सना र क्रान्तिकारी आक्रोश प्रकट गर्दछ ।”

विज्ञप्तिमा भारतीय राज्यसत्ताको वर्गीय, जातीय र नव-औपनिवेशिक चरित्र पुनः उजागर भएको उल्लेख गर्दै भनिएको छ, “साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा उत्पीडित समुदायमाथि युद्ध, रक्तपात र दमन थोपर्ने रणनीति मोदी सरकारको शासन केन्द्रमा पुगेको छ।”

नेकपाले उक्त घटनालाई दक्षिण एसियाली क्रान्तिकारी आन्दोलनमाथिको गम्भीर रणनीतिक चुनौतीको रूपमा लिँदै त्यसको प्रतिरोधमा एकजुट हुन सबै श्रमिक, किसान, उत्पीडित जाति समुदाय, र अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूलाई आव्हान गरेको छ ।


प्रतिक्रिया