लेखक: सुधिर लोहनी
काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक जीवनमा सबैभन्दा महत्त्वपूर्ण र भव्य पर्वहरूमध्ये इन्द्र जात्राले विशेष स्थान राख्छ। यसलाई नेवार समुदायले “येंयाः पुन्हि” पनि भन्छन् जसको अर्थ काठमाडौंको ठूलो उत्सव भन्ने हुन्छ। इन्द्र जात्राले केवल धार्मिक आस्था मात्र होइन, सम्पूर्ण समाजलाई एकताबद्ध गर्ने, कला र संस्कृतिलाई जोगाउने, परम्परालाई निरन्तरता दिने र कुमारी परम्परालाई अझ प्रखर रूपमा स्थापित गर्ने कार्य गर्दै आएको छ। यस पर्वको उत्पत्ति, यसको किंवदन्ती, यससँग जोडिएका परम्परा र विशेषताहरू, साथै जीवित देवी कुमारीको प्रचलनबारे चर्चा गर्दा नेपालको सांस्कृतिक सम्पदाको गहिरो अर्थ उजागर हुन्छ भन्ने विश्वाशका साथ यो लेख तयार पारिएको छ।
किंवदन्तीअनुसार इन्द्रदेव आफ्नी आमा
अदितिलाई स्वर्गमा पूजा गर्न आवश्यक पर्ने विशेष प्रकारको पुष्प लिन पृथ्वीमा
अवतरित भएका थिए। काठमाडौं उपत्यकाको जंगलमा रातको समयमा फूल टिपिरहेका बेला
स्थानीय बासिन्दाले उनलाई चोर ठानी बन्धक बनाए। भोलिपल्ट मात्र सत्य प्रकट भएपछि
उपत्यकावासीहरूले इन्द्रलाई पूजा गरेर मुक्त गरिदिए। त्यसपछि इन्द्रदेवकी आमा
अदितिले उपत्यकावासीलाई पानी, अन्नको समृद्धि र सुख–शान्तिको वरदान दिएकी थिइन्। यही घटनालाई स्मरण गर्दै
इन्द्र जात्राको सुरुवात भएको विश्वास गरिन्छ। यसरी हेर्दा इन्द्र जात्रा केवल
धार्मिक उत्सव मात्र नभई उपत्यकाको कृषिप्रधान जीवनशैलीसँग पनि जोडिएको छ किनभने
यो पर्व धान पाक्ने समयसँगै मनाइन्छ।
इतिहासकारहरूको मत अनुसार इन्द्र जात्रा
लिच्छवि कालदेखि प्रचलनमा आएको पाइन्छ। त्यतिबेला उपत्यकामा राज्य गर्ने शासकहरूले
राजधानीमा शान्ति र समृद्धि कायम होस् भन्ने उद्देश्यले यो पर्वलाई प्रोत्साहित
गरेका थिए। क्रमशः मल्लकालमा आएर यसलाई अझ भव्य बनाइयो। मल्ल राजाहरूले कुमारी
परम्परालाई पनि यसैसँग गाँसेर यसलाई राजकीय रूपमा मनाउन थाले। राजा जयप्रकाश
मल्लको पालादेखि जीवित देवी कुमारीलाई सार्वजनिक रूपमा रथमा विराजमान गराई यात्रा
गराउने चलन सुरु भएको मानिन्छ। यसरी इन्द्र जात्रा धार्मिक मात्र नभई राजनीतिक, सांस्कृतिक र सामाजिक
दृष्टिले पनि महत्वपूर्ण उत्सवको रूपमा स्थापित भयो।
इन्द्र जात्राको आरम्भ भाद्र शुक्ल
चतुर्थीका दिन हुन्छ र करिब आठ दिनसम्म निरन्तर चल्छ। यस अवधिभर काठमाडौंको
हनुमानढोकामा ठूलो लिंगो, जसलाई यशिन भनिन्छ, उभ्याइन्छ। यो लिंगो विशेष रूपमा जंगलबाट ल्याइने ठूलो रुखको ढुंग्रो खम्बा
हो। यसलाई डोरी र सयौं मानिसको सहकार्यमा उभ्याइन्छ। लिंगो उभ्याइएपछि मात्र
जात्राको आधिकारिक सुरुवात हुन्छ। लिंगो इन्द्रको प्रतीक मानिन्छ र यसलाई उभ्याउनु
नै इन्द्रलाई आह्वान गर्ने कार्य हो।
इन्द्र जात्राको अर्को प्रमुख आकर्षण
जीवित देवी कुमारीको रथ यात्रा हो। कुमारीलाई विशेष तयार पारिएको काठको विशाल रथमा
राखी तीन दिनसम्म काठमाडौंका विभिन्न गल्ली र टोलमा परिक्रमा गराइन्छ। यस क्रममा
हजारौं भक्तजन देवीको दर्शन गर्न आउँछन्। कुमारीलाई तलेजु भवानीको अवतार मानिन्छ र
उहाँको दर्शनले शक्ति, समृद्धि र रक्षा प्राप्त हुन्छ भन्ने विश्वास छ। यसै अवसरमा मुलुकको
राष्ट्र प्रमुख अर्थात् अघिल्ला दिनमा राजा र आजका दिनमा राष्ट्रपति स्वयं
कुमारीको दर्शन गर्न जान्छन्। यसरी इन्द्र जात्राले राजसंस्था वा राष्ट्र
प्रमुखसँग प्रत्यक्ष सम्बन्ध राख्ने परम्परा निरन्तरता दिँदै आएको छ।
इन्द्र जात्रामा विभिन्न नाच, प्रर्दशन र
सांस्कृतिक गतिविधिहरू पनि प्रमुख हुन्छन्। पुलुकिसी अर्थात् हात्तीको प्रतीकात्मक
नाच, लाखे नाच, देवलिनाच आदि यस पर्वको विशेषता हुन्। पुलुकिसीलाई इन्द्रको हात्ती ऐरावतको
प्रतीक मानिन्छ। यसले टोल–गल्लीमा नाचेर उत्सवलाई रमाइलो बनाउँछ। लाखे नाच दुष्ट
शक्तिको प्रतीक भएर यसलाई भगाउने प्रयोजनले प्रस्तुत गरिन्छ। यसरी नाच, संगीत, र प्रदर्शनहरूले
इन्द्र जात्रालाई कला र संस्कृतिको जीवन्त उत्सव बनाएको छ।
नेवार समुदायका गुठीहरूले यस पर्वलाई अझ
सशक्त बनाएर निरन्तरता दिएका छन्। गुठी संस्थानले रथ बनाउने, सजाउने, लिंगो ल्याउने, नाचगान गर्ने, देवी–देवताको पूजा
गर्ने जस्ता जिम्मेवारी लिन्छ। यसरी सामूहिक सहभागिता र परम्परागत संगठनको
माध्यमबाट इन्द्र जात्रा पीढी–पीढी हस्तान्तरण हुँदै आएको छ। उपत्यकावासीको
सामाजिक एकता यस पर्वमा स्पष्ट देखिन्छ।
कुमारी परम्परा इन्द्र जात्रासँग अविभाज्य
रूपमा जोडिएको छ। कुमारी भन्नाले नेवार समुदायको शाक्य वा बज्राचार्य परिवारकी
सानो उमेरकी कुमारिकन्या हो जसलाई देवी तलेजु भवानीको जीवित स्वरूप मानिन्छ।
कुमारी चयन प्रक्रिया निकै कठोर हुन्छ। उमेर तीनदेखि पाँच वर्षबीचको हुनुपर्ने, शरीरमा कुनै दाग वा
घाउ नहुनुपर्ने, शारीरिक संरचना, आँखा, दाँत, स्वरूप आदिको विशेष ध्यान राखिने, साथै धार्मिक परीक्षा र आत्मबलको परीक्षण
पनि गरिन्छ। चयन भएकी बालिकालाई कुमारी घरमा राखिन्छ जहाँ उहाँको विशेष
सेवा–सुविधा हुन्छ। सामान्यतया कुमारी सार्वजनिक रूपमा देखाइने अवसर कम हुन्छ, तर इन्द्र जात्रा भने
कुमारीको प्रमुख सार्वजनिक यात्रा हुने समय हो।
कुमारीको रथ यात्रामा हजारौं भक्तजनले
पूजा गर्छन्। राष्ट्र प्रमुखले कुमारीबाट आशिर्वाद ग्रहण गर्ने परम्परा पुरानो
राजसंस्थाकालदेखि निरन्तर चल्दै आएको छ। यसलाई राजकीय वैधानिकता र धार्मिक
मान्यताको संयुक्त रूप मानिन्छ। यसरी जीवित देवी कुमारीको पूजाआजा इन्द्र जात्राको
मुख्य आकर्षण र विशेषता बन्न पुगेको छ।
इन्द्र जात्राले धार्मिक मात्र होइन, सामाजिक र आर्थिक
दृष्टिले पनि ठूलो प्रभाव पार्छ। यो पर्वको अवसरमा काठमाडौंमा हजारौं स्वदेशी तथा
विदेशी पर्यटक आउँछन् जसले नेपालको सांस्कृतिक सम्पदाको अवलोकन गर्छन्। यसले
पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउँछ। साथै जात्राको समयमा बजारमा चहलपहल
बढ्छ, व्यापार–व्यवसाय फस्टाउँछ, र आर्थिक गतिविधिमा वृद्धि हुन्छ।
यस पर्वले समाजमा एकता र मेलमिलाप ल्याउने
काम पनि गर्छ। काठमाडौं उपत्यकाका विभिन्न समुदाय, टोल र गुठीहरूले मिलेर यसलाई सफल पार्ने
भएकाले आपसी सहयोग र समझदारी बढ्छ। यसरी इन्द्र जात्राले धार्मिक आस्थामात्र नभई
सामाजिक एकताको आधार पनि मजबुत बनाएको छ।
आजको आधुनिक समाजमा पनि इन्द्र जात्रा
उत्तिकै भव्य रूपमा मनाइन्छ। पुराना परम्परा जोगाइएका छन् भने नयाँ पुस्ताले पनि
यसलाई गर्वका साथ निरन्तरता दिइरहेका छन्। इन्द्र जात्राले नेपालको सांस्कृतिक
पहिचानलाई विश्वसामु चिनाउने काम गरेको छ। हजारौं वर्षदेखि चलिआएको यस पर्वले
काठमाडौं उपत्यकाको जीवनशैलीमा गहिरो छाप पारेको छ।
निष्कर्षका रूपमा भन्नुपर्दा, इन्द्र जात्रा केवल
एउटा धार्मिक उत्सव होइन, यो काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहर, सामाजिक एकताको माध्यम, कला–संस्कृतिको
प्रदर्शन स्थल, र जीवित देवी कुमारी परम्पराको जीवन्त उदाहरण हो। यसले कृषिप्रधान समाजको
समृद्धि, देवताको कृपा, राष्ट्र प्रमुखको वैधानिकता, र जनसमुदायको सहकार्यलाई एकैसाथ जोडेको छ।
आजको युगमा पनि यो पर्व त्यत्तिकै प्रासंगिक र आवश्यक छ किनभने यसले नेपालको मौलिक
पहिचानलाई सुरक्षित मात्र गर्दैन, विश्वसामु पनि नेपाललाई सांस्कृतिक राजधानीका रूपमा परिचित गराउँछ।