लेखक: सरिता भट्ट
म एक आमा भएर लेख्दैछु।
तर म त्यो आमा हुँ, जसको जीवन केवल
मातृत्वमा होइन, अनगिन्ती भूमिकामा बाँडिएको छ। कहिले शिक्षिका, कहिले पत्नीसंगिनी, कहिले बालबालिकाको
मार्गदर्शक, तर सधैँ एउटा
मौन शक्ति।
मेरो जीवनयात्रा सजिलो थिएन, तर यसमा कुनै गुनासो छैन।
किनकि मैले जस्तो जीवन जिएकी छु, त्यसले मलाई आत्मगौरव, विश्वास, र नयाँ उँचाई दिएका
छन्।
बाल र किशोरावस्थाको मिठा अनुभव त धेरै छन् तर यतिखेर विवाहपछिका दिनहरुका कुरा। जहाँ मैले आर्थिक, सामाजिक, र पारिवारिक जिम्मेवारीलाई सँगसँगै सम्हाल्दै शिक्षिकाको पेशा पनि निभाएँ। श्रीमान् संधै कार्यालय जानुहुन्थ्यो। म बालबालिका, घरधन्दाको जिम्मेवारी र समुदायसँगको सम्बन्ध सम्हाल्थेँ। म त्यतिबेला शिक्षण पेशामात्र हैन, टोल छिमेककाका आमा-बुबासँग कुरा गर्दै उहाँहरुसगँ शिक्षाको महत्वबारे छलफल गर्ने गर्थें।
समय क्रममा छोराछोरी भए, हुर्कंदै गए। उनीहरूको सफलताको सन्दर्भमा कसैसँग कहिल्यै गर्वले बोल्ने गरिन। तर मलाई थाहा छ, उनीहरू राम्रै छन्, जिम्मेवार छन्, अनुशासित पनि। यसले मलाई हरेकचोटी आत्मसन्तुष्टि दिन्छ जसको म धेरै प्रचार चाहन्न। म चाहन्छु, म मायाले बगेको नदीजस्तै बनूँ। जसले अरूलाई पानी दिन्छ, आफू मौन बगिरहन्छ।
मेरो जीवन यात्रा सधैँ गतिशील रह्यो। श्रीमान्
वायुसेवा निगममा कार्यरत हुनुहुन्थ्यो – कहिले नेपालगञ्ज, कहिले भैरहवा, कहिले जनकपुर, कहिले हुम्ला-जुम्ला, कहिले काठमाडौं र विभिन्न
देश। उहाँको सरुवासंगै म पनि सधैं नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ
अनुभव लिएर अघि बढिरहें।
मलाई गहिरो प्रभाव पारेको र सधैं सम्झनामा रहेको एउटा स्मृति साझा गर्न मनलाग्यो। एकचोटि श्रीमानको सरुवा भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो। हाम्रो बसोबास वसन्तकुञ्जको सेक्टर D7 मा तय थियो, एक यस्तो ठाउँ जहाँ सम्पन्न र प्रतिष्ठित मानिसहरू बस्ने गर्थे। एक बिहान म डुल्दै गरेको बेला एक अनौठो दृश्य देखेँ—एक विद्यालय, जहाँ झुपडी बस्तीका साना नानीहरू पढ्न आएका थिए। ती बालबालिका कुनै सम्पन्न परिवारका बालबालिका जस्तै सजिएका थिएनन्, तर उनीहरूका आँखामा भविष्यको उज्यालो झल्कन्थ्यो। त्यो विद्यालयको विशेषता के थियो भने, त्यहाँ पढाउने शिक्षकहरु प्राय: बसन्तकुञ्जका रिटायर्ड प्राध्यापक, डाक्टर, इञ्जिनियर र समाजका प्रतिष्ठित व्यक्तिहरु थिए। मलाई यो दृश्यले गहिरो गरी छोयो। त्यसपछि मैले उनीहरूलाई आफ्नो बारे बताएँ र त्यही दिनदेखि त्यसै विद्यालय पढाउन थालेँ। त्यहाँ खाजासमेत अपार्टमेन्टमा बस्ने मानिसहरुले विभिन्न बहानामा ल्याइदिन्थे। यसले मलाई समुदाय, समर्पण र सेवाभावको वास्तविक महत्त्व सिकायो।
यसरी, म जता गएँ, सेवाभाव साथ गएँ। शिक्षिकाको रुपमा बालबालिकालाई अक्षर, अनुशासन र आत्मनिर्भरता सिकाउँदै। मलाई एकछिन खालिबस्न कहिल्यै रुचि भएन। जीवनका प्रत्येक पाटालाई योगदान दिने ठाउँ माने।
विभिन्न विधालय शिक्षिका भएर मैले बालमनोविज्ञान
मात्र होइन, आमाको भूमिका अझ गहिराइमा बुझेँ। हरेक बालबालिकामा आफ्नै छायाँ देख्थेँ।
यसरी शिक्षण पेशा मेरो आत्मासँगै जोडिएको काम बन्यो।
शिक्षिका बनेर मैले केवल पढाइन मात्र, बरु आफू पनि सिकिरहें।
जीवनलाई बुझ्ने, समाजसँग घुलमिल हुने र सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने
कुराहरू मलाई यही पेशाले सिकायो।
मैले कहिल्यै महँगो कपडा लगाइनँ, धेरै रेस्टुरेन्ट गइनँ, सिङ्गारपटारमा समय
खर्चिनँ। किनकि मलाई लाग्थ्यो-छोरीको किताब प्राथमिकता हो, छोराको फिस दायित्व।
मेरा छोराछोरी – मेरा आँखाका नानी, मेरा सपना र मेरो
उत्तरदायित्व। म उनीहरूको सल्लाहकार, उनीहरूको सहयोगी र
अहिले आएर साथि पनि। म चाहन्थें – उनीहरू आफैँले निर्णय गर्न सकून्, आफैँ अघि बढून्, त्यहि
पाएँ। आमाको प्रेमले छोएका तर पिंजडामा नपारिएका पखेटा दिएकी छु मैले उनीहरुलाई।
अहिले उनीहरु दुबैले आ–आफ्ना बाटा समातिसकेका
छन्—आत्मनिर्भर, जिम्मेवार, र जीवनप्रति गम्भीर। उनीहरूको प्रगति देख्दा लाग्छ - समयलले मलाई खाली हात फर्काएको रहेनछ। मैले उनीहरूमा रोपेको मूल्य मान्यता, संस्कार, र मेहनतको बीउ आज
फलिफाप भएको महसुस हुन्छ।
सायद यि नै मेरा उपलब्धिहरु होलान् भन्ठान्छु, जहाँ
मेरा छोराछोरीले आफ्ना पखेटा फैलाउन सकेकाछन्। निश्चय नै उनीहरूका सफलता मेरो मौन बलिदानको परिणाम हुनुपर्छ।
श्रीमान् मेरो अभिन्न साथी हुनुहुन्छ। उहाँ आफैँमा एक
उदाहरणीय व्यक्ति – वायुसेवा निगमको सफल कर्मचारी, एक कुशल व्यवस्थापक, र अन्त्यमा विमानस्थल
निर्देशकको रूपमा आफ्नो सेवा निवृत्त्र गरि अहिले PhD स्कलर।
ज्ञानको खोज जारी छ उहाँको। यस्तो समर्पित, उदार र सधैं सिकिरहने
जीवनसाथीसँग हिँड्नु मेरो अवसर हो
हाम्रो सम्बन्ध नङ मासु जस्तो छ – जहाँ आपसी
असन्तुष्टि-असहमति कहिले बाधक बनेनन्। पुरुष अहमताको गन्ध कहिल्यै आएन। जहाँ
एकले अर्काको भूमिका बुझ्न र समस्या साझा गर्न प्रेरित
गरिरहन्छ। हामी संधै परस्पर एकअर्काको सम्मान र समर्थन गर्दै सन्तुलन बनाउन उत्सुक
रहन्छौ। त्यसैले पनि होला श्रीमानको सरुवा विभिन्न सहरमा भैरहे पनि घर अस्तव्यस्त
भएन, केटाकेटीको पढाइमा
कुनै आँच आएन, र मेरो आत्मबल कमजोर भएन।
त्यसरि नै, गर्व गर्छु – म एक आमा
हुँ। केवल खाना पकाउने, घर सफा गर्ने, वा बच्चा स्याहारमा
मात्रै सीमित हुने आमा होइन। छोराछोरी भन्छन्- म उनीहरुको मार्गदर्शक, प्रेरणाको स्रोत हुँ।
म खुशी छु आफ्ना छोराछोरीलाई जीवनको मूल्य मान्यता , श्रम र आत्मनिर्भरता
सिकाउन सकें।
कहिलेकाहीँ म आफ्नै अतीतलाई सम्झिन्छु – हरेक ठाउँ, हरेक विधालय, हरेक विद्यार्थी, हरेक चुलोचौका, हरेक दु:ख पीडालाई
मैले आफ्नो आत्मविश्वासले सम्हालें। यो सम्झनाले मलाई
संधै ऊर्जावान बनाउँछ।
निष्कर्षमा, आमा हुनु साधारण कुरा
होइन। यो सृष्टिको अमूल्य अनुभव हो। एउटी आमा कुनै पनि राष्ट्र, संस्कृति, संस्कार, समय र समाजको मेरुदण्ड
हुन्। मेरो जीवनको हरेक अध्याय, मेरो परिवार, मेरा विद्यार्थी, मेरा आफन्त, मेरा
साथीसंगी सबै यही मातृत्वका सिर्जना हुन्।
'म आमा भएकोमा गर्व गर्छु।
म शिक्षिका बनेकोमा गर्व गर्छु।
म जीवनमा संघर्षशील रहन पाएकोमा गर्व
गर्छु।
म सधैं मै रहिरहें, यसैमा म
गर्व गर्छु।'
टिप्पणी: यो लेख
पढिसक्नु भएको भए, एकपल्ट आफ्नी आमालाई अँगालोहाल्न वा सम्झन नबिर्सनू। उहाँका मौनता भित्र अनेकौं कथा लुकेका हुनसक्छन्।