काठमाडौँ __ नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमत सम्बद्ध युवा सङ्गठनले कालाे मोसो दलेको छ ।
बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा नेकपा बहुमत सम्बद्ध युवा सङ्गठनका नेताहरूले थारुलाई कालाे मोसो दलेका हुन् । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।
जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका नेता कार्यकर्ताले बताएका छन् ।
फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधीवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको थियो ।