नाटकमा अमेरिका (स्वर्णदेश) जान अवैध र खतरनाक बाटो रोज्ने नेपालीहरूको समूह देखाइएको छ। उनीहरू जंगल, नदी र समुद्र पार गर्दै अगाडि बढ्छन्—तर यो यात्रा सजिलो छैन। बाटोमा डर, धोका, मृत्यु र आँसुहरू छन्।
तर प्रश्न यहाँ उठ्छ—किन नेपालीहरू यति जोखिम लिएर विदेश जान बाध्य छन्? यसको जवाफ नाटकले निकै बलियो ढंगले दिन्छ।
नाटकले सिधै सरकारप्रति प्रश्न उठाउँछ—
के सरकारले युवालाई देशमै काम गर्ने वातावरण बनाएको छ?
के शिक्षा, स्वास्थ्य, रोजगारी सबैका लागि छ?
किन गाउँ-गाउँबाट युवाहरू पलायन भइरहेका छन्?
सरकारले किन आँखामा पट्टी बाँधेको छ?
राज्यको निष्क्रियता, कमजोर नीति र नेताहरूको उदासिनता नै नाटकमा देखाइएको समस्याको मूल कारण हो। जब सरकार असफल हुन्छ, तब जनता जोखिम मोलेर विदेशी सपना पछ्याउन विवश हुन्छन्।
यो नाटक गायिका जेरुशा राईलाई समर्पित गरिएको छ। उनी हराइरहँदा पनि उनी नाटकभरि उपस्थित लाग्छिन्। खासगरी, जब नाटकको एक भागमा उनकै गीत "सुनसान" बज्छ, त्यो क्षण सबै दर्शक मौन हुन्छन्। त्यसबेला लाग्छ—उनको पीडा सबै नेपालीको साझा पीडा हो।
त्यसैगरी, सरला पराजुलीको "नहिडे पुगिन्न होला" र "भोलिको दिन", अनि प्रशान्त सिवाकोटीको स्वरमा रहेको "कोठा" गीतले नाटकलाई अझै गहिरो बनाउँछ। यी गीतहरूले नाटकको भावनालाई अझ सशक्त बनाएका छन्।
स्वर्णदेश केवल पात्रहरूको कथा होइन—यो हामी सबैको कथा हो। हामीले सोच्नुपर्छ,
के हामीले आफ्नो देशप्रेम गुमाएका हौं?
के सरकार जनताको पीडा बुझ्न सकिरहेको छैन?
के साँचो सपना विदेशमै हुन्छ?
यो नाटक युवाहरूले अनिवार्य हेर्नैपर्छ। किनभने यो नाटकले उनीहरूको सपना र डरलाई मञ्चमा उतार्छ। यसले सरकारलाई चेतावनी दिन्छ, र आम दर्शकलाई चेतना दिन्छ।
"स्वर्णदेश" हेर्नु भनेको केवल नाटक हेर्नु होइन—समाज, सत्ता र सपनाप्रति आफैंसँग संवाद गर्नु हो। यो साँचिकै परिवर्तन चाहने सबैका लागि अनिवार्य कलात्मक सन्देश हो। मण्डला थियटरमा मञ्चन भैरहेको यस नाटक विशेषगरी विद्यार्थी, युवा, समाजप्रति चिन्तित सबै नागरिकले अनिवार्य हेर्नु पर्छ।
स्वर्णदेश नाटक हो, तर साथसाथै एउटा चेतावनी, एउटा प्रश्न र एउटा आह्वान पनि हो। नछुटाउनुहोस्—यो नाटकले तपाईंलाई भित्रसम्म छुनेछ।
- सुधिर लोहनी