सालिन संवादमै आलोचना र जवाफदेहिता

akabarenews.com

लेखक: सुधिर लोहनी


पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने कुरा हामी सबैलाई थाहा छ। यसको मुख्य उद्देश्य सत्ता र जनताबीचको सेतु बन्नु, सत्तालाई जवाफदेही बनाउनु र सत्यलाई उजागर गर्नु हो। तर यो लक्ष्य पुरा गर्न पत्रकारले कुन शैली र स्वर अपनाउने भन्ने कुरा लामो समयदेखि बहसको विषय रहँदै आएको छ। पछिल्ला वर्षमा नेपालको मिडियामा एउटा प्रवृत्ति प्रबल देखिन्छ-प्रधानमन्त्री वा उच्चपदस्थ नेतासँग अन्तर्वार्तामा आवाज चर्काउने, वाक्य काट्ने, उकसाउने, र कहिलेकाहीँ अतिथि असहज हुने वातावरण सिर्जना गर्ने। यसलाई कतिपयले साहसी पत्रकारिता ठान्छन्। तर के यही मात्र आलोचनात्मक पत्रकारिताको मानक हो? साँचो आलोचनात्मक पत्रकारिता स्वरको तीक्ष्णतामा होइन, प्रश्नको गहिराइमा, सन्दर्भको ठोसपनमा र जवाफलाई अनिवार्य पार्ने कुशल प्रस्तुतिमा हुन्छ भन्ने कुरा हालैको विजय कुमार पाण्डे र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको अन्तर्वार्ताले प्रस्ट पारेको छ।

विजय कुमार पाण्डे नेपालमा बौद्धिक, संवेदनशील र संयमित पत्रकारिताका लागि परिचित नाम हुन्। उनले सदैव प्रश्नलाई तर्कसंगत ढंगले प्रस्तुत गर्ने, अतिथिको दृष्टिकोणलाई बुझ्ने र आवश्यक परेको खण्डमा दृढ प्रतिप्रश्न गर्ने शैली अपनाउँदै आएका छन्। प्रधानमन्त्री ओली भने राजनीतिक अनुभव, वाक्पटुता र विवादास्पद अभिव्यक्तिका कारण सधैं सार्वजनिक चर्चाको केन्द्रमा रहने व्यक्तित्व हुन्। दुवै व्यक्तित्वबीचको अन्तर्वार्ता त्यस्तो समयमा भयो जब एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित पुनरागमनबारे चर्चा तातिएको थियो, भारत–नेपाल सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने संकेत दिइरहेको थियो, र सुशासन तथा भ्रष्टाचारविरुद्धको सरकारको अभियान चर्चा र विवाद दुवैको विषय बन्दै गएको थियो। त्यसैले यो अन्तर्वार्ता केवल सामान्य टकशो मात्र नभई वर्तमान राजनीतिक परिदृश्य बुझ्नका लागि महत्त्वपूर्ण अवसर थियो।

यस अन्तर्वार्तामा पाण्डेले अपनाएको शैली हालका धेरै अन्तर्वार्ताहरूसँग तुलना गर्दा निकै ताजगीपूर्ण र फरक देखिन्थ्यो। उनले प्रधानमन्त्रीलाई आफ्नो विचार विस्तारसँग राख्न समय दिए, बीचमै वाक्य काट्ने वा आवाज चर्काउने प्रवृत्ति देखाएनन्। प्रश्नहरू सुझाव र प्रतिप्रश्नको मिश्रणका साथ आएका थिए, जसले संवादलाई विवाद होइन, विमर्शतर्फ मोड्यो। प्रधानमन्त्रीको उत्तरमा कमजोर वा अपूरो अंश देखिँदा उनले सभ्य तर सटीक प्रतिप्रश्न गर्दै स्पष्टिकरण लिन बाध्य पारे। यसले देखायो कि जवाफदेहिता कायम गर्न स्वरको कठोरता होइन, प्रश्नको गहिराइ र प्रस्तुतिको रणनीति आवश्यक छ। अतिथिलाई असहज पारेर मात्र आलोचना भएको देखाउने अभ्यासको सट्टा, उनले सोच्न र खुलाउन बाध्य पार्ने वातावरण बनाएका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित पुनरागमनबारेको प्रश्न यस अन्तर्वार्ताको एउटा रोचक भाग थियो। ओलीले यसलाई पार्टीको आन्तरिक विषयका रूपमा प्रस्तुत गरे पनि पाण्डेले यसमा थप गहिराइमा जाँदै, “यदि उहाँ फर्कनुभयो भने नेतृत्वमा उहाँको भूमिका कस्तो हुने?” भन्ने प्रश्न राखे। यो सभ्य तर सीधा प्रश्न थियो, जसले संवेदनशील विषयमा प्रधानमन्त्रीलाई स्पष्ट धार दिन बाध्य पार्‍यो। भारत–नेपाल सम्बन्धबारेको भागमा पनि, प्रधानमन्त्रीले यसलाई “महत्त्वपूर्ण तर अत्यन्त ठूलो कुरा होइन” भनेर व्याख्या गरेपछि, पाण्डेले यसको व्यावहारिक पक्षबारे थप स्पष्टीकरण मागे, जसले दर्शकलाई वास्तविक नीति र प्राथमिकता बुझ्न मद्दत गर्‍यो।

सुशासन र भ्रष्टाचारको विषयमा, प्रधानमन्त्रीले आफ्नो संकल्पबारे कुरा राखेपछि पाण्डेले अघिल्ला अवधिहरूमा पनि यस्तै प्रतिबद्धता आएको तर परिणाम किन असन्तोषजनक रह्यो भन्ने प्रश्न उठाए। यो प्रश्न सीधा आलोचनात्मक थियो तर स्वर सभ्य र सन्तुलित-यसले मुद्दालाई उठाउने मात्र होइन, जवाफ पनि अनिवार्य पार्ने वातावरण सिर्जना गर्‍यो।

यो अन्तर्वार्ताले स्पष्ट देखायो-असहज वातावरण सिर्जना गर्नु र जवाफदेहिता कायम गर्नु फरक कुरा हुन्। नेतालाई असहज बनाउँदा उनीहरूले रक्षात्मक मुद्रा लिन सक्छन् र आवश्यक जानकारी लुकाउने सम्भावना बढ्छ। बरु, सम्मानजनक वातावरणमा प्रस्तुत प्रश्नले विस्तृत उत्तर आउने सम्भावना धेरै हुन्छ। यस्तो उत्तरलाई पत्रकारले तथ्य र तर्कका आधारमा पुनः जाँच गर्ने अवसर पाउँछ। दर्शकको दृष्टिमा पनि यस्तो शैली बढी ग्रहणयोग्य हुन्छ, किनकि चिच्याउने र वाक्य काट्ने शैलीले कहिलेकाहीँ मुख्य सन्देश नै हराएको हामिले धेरै अचेलका बढि रुचाइएका भनिएका टकशोहरुमा देख्ने गरेकै छौ

तर सदा झै यो टकशोमा पनि विजय कुमार पाण्डेको संयमित तर दृढ शैलीले सत्तापक्षलाई जवाफदेही बनाउन चर्को स्वर वा टकराव अनिवार्य छैन भन्ने देखायो। बरु, तयारीपूर्वक राखिएका तीक्ष्ण प्रश्न र आवश्यक प्रतिप्रश्न नै साँचो आलोचनात्मक पत्रकारिताको आधार हुन्। यसबाट नेपाली पत्रकारिताले सिक्नुपर्ने कुरा स्पष्ट छ-सनसनीभन्दा बढी सन्दर्भ, आवाजभन्दा बढी तर्क, र द्वन्द्वभन्दा बढी संवाद।

 अन्तर्वार्ता सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आए। धेरैले यसलाई सभ्य तर गहिरो संवादको उत्कृष्ट उदाहरण भने, जहाँ आलोचना र जवाफदेहिता दुवै सहज सम्भव देखियो। केहीले भने प्रधानमन्त्रीलाई सजिलो बनाइएको भन्दै आलोचना गरे। तर समयसँगै आलोचनात्मक पत्रकारिता केवल चिच्याएर वा धम्काएर होइन, संयमित तर रणनीतिक प्रश्नमार्फत पनि सम्भव छ भन्ने कुरा सबै को बुझाइ बन्दै गैरहेको देखिन्छ।

निष्कर्षमा, वास्तविक पत्रकारिता भन्नाले सत्तासँग प्रश्न गर्न नडराउने, जवाफ अपूरो भए स्पष्टिकरण लिन नहिच्किचाउने, तर यो सबै सभ्य र पेशागत शैलीमा गर्ने हो।  विजय कुमार पाण्डे र प्रधानमन्त्री ओलीबीचको यो अन्तर्वार्ता त्यसैको प्रत्यक्ष प्रमाण हो। यसले अहिले चलनचल्तिमा रहेको धारणालाई गतिलो झापड हानेको छ। गहिरो पत्रकारिता गर्न प्रस्तोताले स्वर चर्काउनुपर्छ भन्ने धेरैको अहिलेको मानसिकता गलत साबित गरिदिएको छ। जवाफदेहिता र आलोचना संयमित तर दृढ शैलीमै सम्भव छ, र यही शैलीले दीर्घकालीन रूपमा पत्रकारिता र लोकतन्त्रलाई सुदृढ बनाउन मद्दत गर्छ

प्रतिक्रिया