रुबेला रोग निवारण गर्न नेपाल सफल, विश्व स्वास्थ्य संगठनले गर्‍यो घोषणा

akabarenews.com

विश्व स्वास्थ्य संगठनले आज नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ।

नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरूविरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको संगठनले जनाएको छ।

दादुराजस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा भाइरसको संक्रमणबाट हुने अति संक्रामक रोग हो। यस रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ ।

“नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य

स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो । यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,” विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भने।

उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोग को सिफारिसलाई स्वीकृत गर्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरे।

क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्यांक तथा विवरणको समिक्षा तथा मूल्याङ्कन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको हो ।

नेपाल, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ । सन्२०२६ भित्र दादुरा र
रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पु¥याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भूटान, उत्तर कोरिया, माल्दिभ्स र टिमोर–लेस्टेले दादुरा निवारण गरी सकेका छन्भने भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र अब नेपालले पनि रूबेला निवारणमा सफलता प्राप्त गरेका छन्।

प्रतिक्रिया