सन्तान हुर्काउने कला : माया, अनुशासन र संस्कारको समन्वय

akabarenews.com

जब बच्चा जन्मिन्छ, त्यो केवल एउटा नयाँ जीवनको सुरुवात मात्र हुँदैन – त्यो आमा–बुबाको पनि पुनर्जन्म हो। त्यस क्षणबाट सुरु हुन्छ एउटा यस्तो यात्रा जसले माया, धैर्यता, आत्मसमर्पण, बौद्धिकता र मनोवैज्ञानिक बुझाइको गहिरो तालमेल माग्छ। बालबालिका काँचो माटोजस्तै हुन् – उनीहरूलाई कस्तो आकार दिने भन्ने जिम्मा आमाबुबामाथि हुन्छ। सन्तान हुर्काउने कुरा केवल माया र पालनपोषणसम्म सीमित छैन। यो जीवनभर सिकिरहने एउटा जिम्मेवारी हो – जसमा हरेक दिन नयाँ परिक्षण आउँछ, हरेक मोडमा निर्णय गर्नुपर्ने हुन्छ। अभिभावकत्व कुनै डिग्री लिएर आउने ज्ञान होइन, यो अभ्यास, मनोविज्ञान, अनुभव र स्वभावको संयोजन हो।

आजको डिजिटल युग, प्रतिस्पर्धात्मक शिक्षा प्रणाली, विदेशी संस्कृतिको प्रभाव, र शहरमुखी जीवनशैलीले गर्दा सन्तान हुर्काउने काम चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो परिवेशमा सन्तुलित अभिभावकत्व कसरी कायम राख्ने भन्ने कुरालाई लिएर यो लेखमा दसवटा बुँदामार्फत गहिरो विश्लेषण गरिएको छ।

सन्तान हुर्काउने दस सूत्र

१. बालबालिकाको पहिलो पाठशाला : 

परिवार बच्चाको पहिलो सिकाइको थलो घर हो। ऊ स्कूल जानु भन्दा पहिला नै आमाबुबा, हजुरआमा, हजुरबुबाबाट धेरै कुरा सिकिसकेको हुन्छ। बोलीको शैलीदेखि व्यवहारसम्म सबै कुरा परिवारमै प्रतिविम्बित हुन्छ।

हामीकहाँ बिहान उठेर आमाले "ओम् नमः शिवाय" भन्ने बानी बनाउनु भयो भने बच्चाले पनि सिक्छ। बुबाले रिस उठ्दा संयमित प्रतिक्रिया जनाउनुभयो भने त्यो सिकाइ सधैंका लागि बस्छ।


२. प्रेम र अनुशासनको समन्वय आवश्यक:

सिर्फ माया गरेर बच्चा बिग्रिन्छ, र केवल अनुशासनले कठोर बनाउँछ। प्रेमले आत्मीयता दिन्छ भने अनुशासनले मूल्य र जिम्मेवारी सिकाउँछ। यी दुईबीचको सन्तुलन आवश्यक छ।

सन्तानले  मिठाई माग्दा सिधै "होइन!" भन्नुको सट्टा "आज होइन, भोलि लिएर खाऔं" भनेर सम्झाउनुपर्छ। यसले उसलाई निराश नगरी अनुशासनमा राख्छ।

३. संचार – हरेक उमेरमा संवादको शैली फरक हुन्छ:

बालबालिकासँग संवाद गर्दा उमेर, अवस्था र भावनालाई बुझेर बोल्नुपर्छ। प्रश्न सुन्ने र जवाफ दिने क्षमता विकास गराउने संवाद आवश्यक हुन्छ।

छोरी स्कुलबाट रुँदै आँउदा "किन रोएकी?" भन्दा पहिले "आउ नानु हजुरलाई के भयो?" भनेर अँगालो हाल्नु महत्त्वपूर्ण हुन्छ।


४. डिजिटल युगको चुनौती, सन्तुलन र सुरक्षाको खाँचो: 

अहिलेको मोबाइल, इन्टरनेट, युट्युबको युगमा सन्तानलाई सूचना र विकर्षण (distraction) दुवैबाट जोगाउनुपर्छ। टेक्नोलोजी उपयोगी हो, तर नियन्त्रण आवश्यक छ।

पुस्तक हेर्नुको सट्टा मोबाइलमै दिनभर टिक्ने बानी बनेको छ। घरमा हप्तामा एक दिन 'मोबाइल छुट्टी' घोषणा गरौं र बच्चासँगै परम्परागत खेल (जस्तो गोट्टा, लूडो) खेल्ने बानी बसालौं।


५. आत्मनिर्भरता र आत्मविश्वास विकास गर्ने :

"तँ जान्दैनस्" भन्ने हैन, "तिमी गर्न सक्छौं" भन्ने  वातावरणले बच्चा आत्मनिर्भर बन्छ। उसले आफ्ना निर्णय आफैं लिन र गल्तीबाट सिक्न सिक्छ।

छोराले  आफै स्कुल प्रोजेक्ट बनाउन खोज्दै छ भने सबै आमा–बुबाले बनाइदिने होइन, सघाउने र हौसला दिने हो।


६. पढाइ मात्र होइन, जीवन शिक्षामा जोड दिनुपर्छ :

अंक ल्याउने शिक्षा मात्र होइन, व्यवहार, सदाचार, दया, सहिष्णुता र इमान्दारी पनि सिकाउनुपर्छ।

छोरीले बाटोमा वृद्ध आमालाई सहायता गरिन् भने त्यो कार्य अंक भन्दा पनि मूल्यवान् हुन्छ – त्यसको प्रशंसा गर्न नबिर्सौं।


७. संस्कार र मूल्य – नेपालीपनको संरक्षण :

विदेशी भाषासँगै नेपाली भाषा र संस्कार पनि आवश्यक छन्। सन्तानलाई हाम्रो चाडपर्व, लोककथा, पहिचानसँग जोड्नु अत्यावश्यक छ।

बिहान बुढीआमाले बालकलाई गीता वा रामायणको कथा सुनाउनु, बुवाले ठुलाको पाउ ढोगेर आशीर्वाद लिने परम्परा सिकाउनु नै संस्कार हो।


८. समय – सबैभन्दा ठूलो उपहार :

सन्तानलाई सबैभन्दा चाहिने कुरा हो – आमाबुबाको समय। मोबाइल वा पैसा होइन। सँगै बसेर खाना खाने, रमाइला कुरा गर्ने, बाहिर घुम्न जाने – यी नै अमूल्य उपहार हुन्।

शनिबार बिहान बच्चासँग गार्डेनमा सँगै बिरुवा रोप्ने वा पोखरीमा माछा हेर्ने समय दिनुहोस् – त्यो क्षण बच्चाको स्मृतिमा अमिट बन्छ।


९. सन्तान तपाईंको प्रतिविम्ब हो – आफै सुधारिएर सुरु गर्नुहोस् :

बच्चा हाम्रै व्यवहारको प्रतिछाया हो। हाम्रा हर्कत, शब्द र प्रतिक्रिया उसले देखिरहेको हुन्छ। त्यसैले सुधार आफैबाट सुरु गर्नु नै सबैभन्दा प्रभावकारी शिक्षा हो।

बुबाले सडकमा फोहोर फ्याँक्नुभएन भने छोरा पनि फोहोर नगरोस्। आमा छिमेकीलाई आदरपूर्वक बोल्नुभयो भने छोरीले पनि त्यसै सिक्छे।


१०. निष्कर्ष : यो प्रेम, धैर्यता र बुझाइको यात्रा हो :

सन्तान हुर्काउने कार्य कुनै पाठ्यपुस्तकको विषय होइन – यो प्रेम, धैर्यता, प्रयोग र पुनरावलोकनको यात्रा हो। बच्चालाई आफ्नो इच्छा अनुसार नभई, उसको क्षमता अनुसार हुर्किन सहयोग गर्नुपर्छ। 

“हामी बच्चालाई उनी जस्तो बन्न दिन्छौं कि उनीलाई आफू जस्तो बनाउने प्रयास गर्छौं? अभिभावकले यो कुरा एकदम राम्ररी बिचार गर्नु पर्छ। सन्तान हुर्काउने काम राष्ट्र निर्माण सरह हो। हामीले दिएका संस्कार, मूल्य र समय उसकै जीवनलाई मात्र होइन समाजको दिशालाई पनि असर गर्छ। अभिभावकत्व सम्मानित पद हो – जसमा निरन्तर सिकाइ, मनोविज्ञान, सहनशीलता र प्रेमको अभ्यास चाहिन्छ।

                                                   -सुधिर लोहनी 



प्रतिक्रिया