लेखक: सुधिर लोहनी
नेपालको
आकाशमा हिजोआज घामको सुनौलो किरण भन्दा बढी धुलोका तुवालो देखिन्छन्। बिहानको समय, आमसंचारमा मास्क लगाउने सल्लाहका सुचना, अनि हावासँगै गहिरो पीडा बोकेका मानिसहरूको स्वास, यो
हाम्रो अहिलेको वास्तविकता हो। हावा त अदृश्य हो, तर यसको गुणस्तर खराब हुँदा त्यसको असर हाम्रा आँखामा, घाँटीमा, र फोक्सोमा सजिलै महसुस हुन्छ। काठमाडौं मात्र होइन, पोखरा, धरान, नेपालगञ्ज, जहाँ गए पनि प्रदूषित हावाले हाम्रो
स्वास्थ्यलाई लगातार धम्की दिइरहेको छ। यस्तो अवस्था भोगिरहेको आम नेपाली समाजमा, दुई नेपाली युवक, शक्रिय पाण्डे र श्रीषा पाण्डेले एउटा यस्तो विचारलाई जन्म दिए जसले नेपाली युवाको
सोच र सम्भावनामा ठूलो परिवर्तन ल्याइरहेको छ। यो विचार हो वायुदृष्टि, जसको
उद्देश्य छ: हरेक क्षेत्र, वर्ग समुदाय र सम्पुर्ण विश्वभर छरिएर रहेका हरेक मानवलाई
स्वच्छ र सफा सास फेर्ने वातावारणको निर्माण गर्ने जो हरेक मानवको नैसर्गिक अधिकार
पनि हो ।
वायुदृष्टि नाम सुन्दा नै एउटा
ताजा अनुभूति हुन्छ। यसको अर्थ हो “वायुलाई देख्ने दृष्टि”। तर यसले वायुलाई केवल
देखाउँदैन, यसको गुणस्तर मापन गर्छ, बुझ्छ, र सुधारको उपाय पनि दिन्छ। यो केवल प्रविधिको कुरा
होइन, यो जीवनको कुरा हो। जब तपाईंको बच्चाले खेल्न नपाएर
घरभित्र मात्र समय बिताउँछ, जब
बुबाआमाले मास्क बिना बाहिर निस्कन डराउँछन्, तब तपाईंलाई थाहा हुन्छ, हाम्रो हावामा केही समस्या
छ। यही समस्या समाधान गर्न वायुदृष्टि जन्मिएको हो।
शक्रिय
पाण्डे, नेपाली युवा, जसको
उमेरका धेरैजना अझै ‘के पढ्ने, के गर्ने, को द्वन्दमा हुन्छन् तर उनि भने वायुदृष्टिका सीईओ र सह–संस्थापक साथै नेपाली युवा वैज्ञानिकको रुपमा विश्व माझ परिचित छन्। तेसैले उनी नेतृत्वको भूमिकामा मात्र छैनन्, आफ्नै हातले नयाँ प्रविधि निर्माण गर्ने अभियानमा पनि
छन्। १,००० भन्दा बढी
विद्यार्थी र शिक्षकलाई रोबोटिक्स सिकाइसकेका उनी, प्रविधि प्रयोग गरेर समस्या समाधान गर्न माहिर छन्।
उनकी बहिनी श्रीषा
पाण्डे, कम्पनीको सीएफओ, आर्थिक रणनीतिको जिम्मेवारीमा छिन्। प्रविधि मात्र
बनाउने होइन, यसलाई दीगो बनाउने र
ठूला सपना पुरा गर्न आवश्यक स्रोत जुटाउन सक्नु श्रीषाको बलियो पक्ष हो।
यी दाजु
बहिनीका साथमा छिन् मञ्जिला
पाण्डे, जसले कम्पनीको सीटीओ को रूपमा हावा मापन
गर्ने उपकरण र AI सेंसर प्रणाली बिकासमा
नेतृत्व गरेकी छन्। यसरी हेर्दा, वायु
दृष्टि केवल
एउटा कम्पनी होइन, एउटा
पारिवारिक संकल्प हो, जहाँ विचार, श्रम
र सपना सबैले बराबरी स्थान पाएका छन्।
वायुदृष्टि ले विकास गरेको प्रणाली
सस्तो, स्मार्ट र सजिलो छ।
यसले PM2.5,
PM10, CO₂, तापक्रम
र आर्द्रता जस्ता
सूचकहरू ९३% भन्दा बढी सटीकताका साथ मापन गर्छ। यसमा AI आधारित विश्लेषण छ जसले आगामी सात दिनको
हावाको पूर्वानुमान दिन्छ। यस अर्थमा, तपाईंलाई अब केवल आजको प्रदूषण थाहा हुँदैन, भोलिको तयारी पनि गर्न सकिन्छ, जस्तै बच्चालाई बाहिर
खेल्न पठाउने कि नपठाउने, मास्क
लगाउने कि नलगाउने, वा
घरको हावा शुद्ध गर्न तयारी गर्ने।
अहिलेसम्म, वायुदृष्टि ३० भन्दा बढी शहरमा फैलिएको छ। हरेक महिना करिब एक लाख मानिसहरू यसको प्लेटफर्म प्रयोग
गर्छन्। यसले सुरु गरेको वायुसेना अभियानले ६,००० भन्दा बढी युवालाई तालिम दिइसकेको छ, जसले आफ्नो समुदायमा हावाको अवस्था मापन, रिपोर्ट, र सुधारको लागि अभियान चलाउँछन्। यो केवल डेटा दिने
कुरा होइन, यो चेतना जगाउने कुरा
हो।
तर
यसको सबैभन्दा ठूलो उपलब्धि के हो भने, यो परियोजना Hult Prize 2025 मा १५,००० भन्दा बढी स्टार्टअपमध्येबाट शीर्ष २०
फाइनलिस्टमा पर्न सफल भयो। यो प्रतिस्पर्धा विश्वकै सबैभन्दा प्रतिष्ठित सामाजिक
उद्यम प्रतियोगितामध्ये एक हो, जसमा
पुग्नका लागि प्रविधि मात्र होइन, दृष्टि
र दृढता दुवै चाहिन्छ। यो सफलता केवल शक्रिया र श्रीषाको मात्र होइन; यो सम्पूर्ण नेपालका युवाहरूको जित हो।
नेपालमा
धेरैजसो युवाहरूको मनमा एउटा पुरानो सोचले जरा गाढेको छ - नेपालमा केहि हुँदैन, यहाँको सिस्टमले सम्भावनालाई हुर्कन नदिई बिचमै मारिदिन्छ। यो सोच धेरै हदसम्म
विगतका निराशाजनक अनुभवले जन्माएको हो, र यसले नयाँ सम्भावना खोज्ने आँटलाई कमजोर बनाउँछ। तर वायुदृष्टि जस्तो परियोजनाले भने
यो मानसिकतालाई सीधै चुनौती दिएको छ। शक्रिय र श्रीषाले प्रमाणित गरेका छन्, सपना नेपालमै सुरु भएर पनि विश्वको मञ्चमा पुर्याउन सकिन्छ।
हावाको
प्रदूषण केवल स्वास्थ्यको समस्या होइन, यो आर्थिक र सामाजिक समस्या पनि हो। प्रदूषित हावाका
कारण काम गर्ने उमेरका मानिसहरू बारम्बार बिरामी पर्छन्, अस्पतालको खर्च बढ्छ, र उत्पादनशीलता घट्छ। बालबालिकामा दिर्घकालीन रोगको
सम्भावना बढ्छ, वृद्धहरूमा
रोगको जटिलता तीव्र हुन्छ। यसको असर केवल व्यक्तिगत जीवनमा होइन, सम्पूर्ण अर्थतन्त्रमा पर्छ। यही कारण, वायुदृष्टि को काम केवल प्रविधि आपूर्ति गर्नु मात्र होइन, सम्पूर्ण समुदायलाई दीगो समाधानको बाटोमा लैजानु हो।
यस
परियोजनाको भावनात्मक पक्ष अझै गहिरो छ। यो केवल हावा मापन गर्ने उपकरण बेच्ने
कुरा होइन, यो जीवन बेच्ने कुरा हो,
जीवनको सबैभन्दा आधारभूत अधिकार, स्वच्छ
सासको अधिकार। वायुसेना जस्ता अभियानहरूले
विद्यालय, कलेज र समुदायमा वायु
प्रदूषणबारे चेतना फैलाउँछन्, जसले
गर्दा नागरिक मात्र होइन, स्थानीय
सरकार र संस्थाहरू पनि सक्रिय बन्छन्।
शक्रिय
र श्रीषाको यात्रा सजिलो थिएन। सुरुमा उपकरण निर्माणका लागि स्रोत जुटाउन कठिन
भयो। प्रविधिको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा पुग्ने बनाउनु, बजारमा यसको विश्वास निर्माण गर्नु, अनि हरेक समस्याका बावजूद पनि निरन्तर लागिपर्नु, यी सबै
चुनौतीपूर्ण थिए। तर प्रत्येक अवरोधलाई अवसरमा बदल्ने उनीहरूको क्षमता नै उनीहरूको
सबैभन्दा ठूलो बलियो पक्ष हो। परिवारको समर्थन, टिमको प्रतिबद्धता र उद्देश्यको स्पष्टताले गर्दा
उनीहरूले आज यो स्थान हासिल गरेका छन्।
यो
कथा हामी सबैका लागि प्रेरणाको स्रोत हो। जब हामी “नेपालमा केहि हुँदैन” भन्छौं, त्यसबेला वायुदृष्टि जस्तो उदाहरण अब हाम्रै आँखा अगाडि हुनेछ। जसले
देखाउँछ, हृदयबाट नै द्रिढ
संकल्पका साथ आफ्नै देशमा केहि गर्छु भनेर लाग्ने हो भने नेपालमा नै अवस्य धेरै कुरा
गर्न सकिन्छ र हामी सबैले आफ्नो स्तरबाट योगदान दिन सक्छौं।
नेपालको
भविष्य ठूला भवन, सडक
वा उद्योग त हुदै हुन् तर हावाजस्तो अदृश्य तर जीवनका लागि अपरिहार्य वस्तु नै बिसाक्त
र प्रदुषित हुने हो भने ति विकास असंभव प्राय हुन जान्छ र हामीले सास फेर्ने
अधिकारलाई जोगाउन सकेनौं भने अरू सबै विकासको अर्थ हराउँछ। जब कुनै दिन बिहान, मास्क
बिना, निलो आकाशतर्फ हेरेर
गहिरो सास तान्न सक्ने क्षण आउँछ, त्यो
दिन हामीले यो लडाइँ जितेका हुनेछौं।
हो, वायुदृष्टि ले
त्यो लडाइँको बिगुल नेपालबाट फुकेर आज संसारभर सुनाएको छ। अनि, यो मात्र सुरुवात हो, नेपालमा
रोपिएको सपनाले आकार लिदै विश्व बजार भ्रमण, अब लगातार हुनुपर्छ।