एलिसा ढुंगानाको सौन्दर्यको भग्नावशेष लोकार्पण

akabarenews.com

साउन २७, काठमाडौं। कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले पुस्तकको विमोचन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले एलिसाको कविताले पाठकको संवेदनालाई गहिरो रूपमा छुने उल्लेख गर्दै भने-“जीवन र जगतका सत्यहरूलाई एलिसाले सहज, तर प्रभावकारी शैलीमा कवितामा उतारेकी छिन्।”

कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा केवल सपना र रहर मात्र नभई, अवसाद र असन्तुष्टिको बीचमा पनि अघि बढ्ने चेतना झल्किने बताए।

त्यसैगरी, कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविताहरू सरल भए पनि अत्यन्त गहिरा रहेको उल्लेख गर्दै भने-“प्रत्येक कवितामा आजको मान्छेको आशा र बाध्यता स्पष्टसँग महसुस गर्न सकिन्छ।”

कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको जुनूनले आफूलाई गहिरो रूपमा संवेदित बनाएको बताए।

सो अवसरमा कवि एलिसा ढुंगानाले बाल्यकालदेखि नै कविताप्रतिको आकर्षण रहेको र भविष्यमा अझ नयाँ प्रयोग र सिर्जनामा अघि बढ्ने इच्छा व्यक्त गरिन्। साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन र ताजगी पाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतका व्यक्तित्वहरूले सौन्दर्यको भग्नावशेष का कविता वाचन गरे।

एईएम ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै, स्वास्थ्य र सञ्चार क्षेत्रमा सक्रिय एईएम ग्रुपले अब प्रकाशन क्षेत्रमा पनि कदम राखेको र यस यात्रामा सबैको साथ आवश्यक पर्ने बताए।

तीन खण्डमा विभाजित यो कविता संग्रहमा जम्मा ३८ वटा कविता समेटिएका छन्। वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठद्वारा डिजाइन गरिएको पुस्तकको आवरणमा वरिष्ठ कविवर वैरागी काइँलाको भूमिका समावेश छ।

प्रतिक्रिया