काठमाडौँ---नेपालको आदिवासी जनजाति चलचित्रको इतिहासमा पहिलो पटक, बेलायतको राजधानी स्कटल्याण्डको एडिनबरा शहरमा “नेपाल इन्डिजिनस फिल्म फेस्टिभल – NIFF 2025” भव्य रूपमा सम्पन्न भएको छ। सन् २०२५ जुलाई १९ तारिखका दिन नेपाल-स्कटल्याण्ड एसोसिएसन, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ र प्रदेश नं. १ को संयुक्त आयोजनामा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने एडिनबरा क्षेत्रका सांसद फेजल चौधरी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र मुख्यधारको आदिवासी विषयमा आधारित चलचित्रहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो। लघु चलचित्र विधामा 'खिम' निर्देशन विकास मगरलाई उत्कृष्ट लघु चलचित्र पुरस्कार प्रदान गरियो भने 'लैलासा परहेके' निर्देशन विनोद पुडासैनीले जूरी अवार्ड प्राप्त गरे। वृत्तचित्र विधामा 'एभरेष्ट आमा' निर्देशन सङ्गीता श्रेष्ठले उत्कृष्ट वृत्तचित्र पुरस्कार पाउनुभयो भने 'दिव्य द्विविधा' निर्देशन केपी पाठकले जूरी अवार्ड जित्नुभयो। आदिवासी चलचित्रतर्फ 'हाङनन्द' का हेमन्तकृष्ण पाङ्दाकले उत्कृष्ट पटकथाको पुरस्कार प्राप्त गरे, 'नाम्लो' का पूर्ण लिम्बू उत्कृष्ट अभिनेता घोषित भए, 'लाखे आजु' की असिस्मा नाकर्मी उत्कृष्ट अभिनेत्री बनिन्। निर्देशक सागर केरुङले 'छे' मार्फत निर्देशक जूरी अवार्ड प्राप्त गरे भने प्रितम गुरुङले 'मुख्य' मार्फत आफ्नो ५०औं निर्देशनका रूपमा उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभयो। उत्कृष्ट चलचित्रको रूपमा लोकेन सावा लिम्बूद्वारा निर्देशित 'सुगुप' ले अवार्ड हात पार्यो भने ज्योति राज राईद्वारा निर्माण गरिएको 'नक्छोङ' लाई विशेष उल्लेखनीय पुरस्कार प्रदान गरियो। मुख्यधारको आदिवासी विषयमा आधारित चलचित्रको श्रेणीमा ‘गाउँ आएको बाटो’ का महेश राई उत्कृष्ट पटकथा लेखक घोषित भए, 'अञ्जिला' चलचित्रबाट श्रीजना सुब्बा उत्कृष्ट चरित्र अभिनेत्री र माओत्से गुरुङ उत्कृष्ट चरित्र अभिनेता घोषित भए। ‘गोर्खा वारियर’ का रितेश चाम्स नव-प्रवेशी उत्कृष्ट अभिनेता र ‘कर्साङ’ की श्रीजना निङलेखु नव-प्रवेशी उत्कृष्ट अभिनेत्री घोषित भइन्। ‘गाउँ आएको बाटो’ का दयाहाङ राई उत्कृष्ट अभिनेता र ‘घरज्वाइँ’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए भने ‘अञ्जिला’ का मिलन चाम्स उत्कृष्ट निर्देशक र ‘गाउँ आएको बाटो’ उत्कृष्ट चलचित्रको रूपमा चयन भयो। यस महोत्सवमार्फत नेपाली आदिवासी समुदायका मौलिक कथा, भाषा, संस्कृति र प्रतिभाहरूलाई विश्वसामु चिनाउने कार्यमा एक ऐतिहासिक उपलब्धि हासिल भएको आयोजक संस्थाहरूले बताएका छन्। सम्पूर्ण विजेता सिर्जनाकर्मीहरूलाई आयोजकले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
22 July 2025