गायक तथा संगीतकार प्रकाश वाइवा : श्रोतालाई भगवान मान्ने कलाकार

akabarenews.com

नेपाली गीत–संगीतको रंगीन संसारमा एउटा सुमधुर स्वर, अथक परिश्रम र गहिरो प्रतिबद्धताको नाम हो-गायक तथा संगीतकार प्रकाश वाइवा। सिन्धुलीको कमलामाई नगरपालिका, घुरा फाँटमा जन्मिएका वाइवाले आफ्नो जीवनको एक दशकभन्दा बढी समय कला, संस्कृति र भाषालाई विश्वव्यापी पहिचान दिलाउन समर्पित गरेका छन्। उनी भन्छन्-“मेरो श्रोता नै मेरो लागि भगवान हुन्।”

संगीतलाई उनले जीवनकै पर्याय मान्छन्। उनका अनुसार, बरु रक्सी र चुरोट छोड्न सकिन्छ, तर संगीतको नशा त्याग्न असम्भव जस्तै हो। संगीत, उनको दृष्टिमा, ध्यानको अर्को रूप हो-जसले मनलाई आनन्दित र आत्मालाई शान्त बनाउँछ। यसै कारण उनी सुख-दुःखको हरेक क्षणमा संगीतलाई साथीसँगैको जस्तो महसुस गर्छन्।

वाइवाको सांगीतिक यात्रा सजिलो थिएन। कतार र दुबईमा वर्षौं बिताएपछि उनले विदेशमा आफ्नो भविष्य देखेनन् र आफ्नै गाउँ फर्किए। गाउँमै रहँदै उनले गीत–संगीतलाई जीवनको केन्द्र बनाए। यसबीच उनले असंख्य चुनौती र कठिनाइको सामना गरे-तर हार कहिले मानेनन्। उनका अनुसार, यो क्षेत्रमा एकपटक रस बसिसकेपछि यसलाई छोड्नु गाह्रो हुन्छ, त्यसैले जुनसुकै परिस्थिति आए पनि अडिग रहनुपर्छ।

हालको नेपाली गीत–संगीत बजारमा फैलिएको छाडापन र दुईअर्थी शब्दावलीप्रति उनी चिन्तित छन्। वाइवा मान्छन् कि गीत–संगीतले संस्कृति र कलाको जगेर्ना गर्नुपर्छ, तर पछिल्ला वर्षमा समाजलाई दूषित पार्ने खालका शब्दहरू भित्रिएका छन्। उनी स्पष्टसँग भन्छन्-“जसरी चलचित्रमा सेन्सरसिप हुन्छ, त्यस्तै गीत–संगीतमा पनि सेन्सरसिप आवश्यक छ, ताकि भोलिको पुस्तामा गलत सन्देश नजाओस्।”

संगीतलाई पेशा बनाउने जो–कोहीका लागि औपचारिक अध्ययन र ज्ञान अपरिहार्य भएको उनी जोड दिन्छन्। उनको बुझाइमा, आजको प्रतिस्पर्धी बजारमा अब्बल बन्नका लागि प्रतिभासँगै सैद्धान्तिक र प्राविधिक दक्षता दुवै चाहिन्छ।

उनको हालै सार्वजनिक गीत ‘गोप्य सेटिङ’ यसको उत्कृष्ट उदाहरण हो। पृथ्वी लामाको शब्द, प्रयास तामाङको संगीत, र वाइवा तथा एन्जिला रेग्मीको स्वरमा तयार भएको यो गीतको भिडियोमा संजीव गोले र सिर्जना घिसिङ मुख्य भूमिकामा छन्। अनिल बिष्ट प्युठानीको सम्पादन, सञ्जीव ठोकारको कोरियोग्राफी र निर्देशन, तथा दुर्गा श्रेष्ठको छायांकनमा बनेको भिडियोमा अन्य चर्चित कलाकारहरूको पनि सहभागिता छ। भिडियो प्रकाश वाइवा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ र दर्शकको सकारात्मक प्रतिक्रियासँगै लोकप्रिय बन्दै गएको छ।

१७ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका र दुई दर्जनभन्दा बढी गीतमा स्वर दिएका वाइवाका ‘हिमाली कान्छी’, ‘क्या राम्री मैच्याङ’, ‘ब्रान्डवाली’, ‘चौका पन्जा दाउ’, ‘ब्रेल्साङ लाई म्हान्जी’, ‘घर मेरो सिन्धुली धुरा गाउँ’, ‘यो हाम्रो ल्होछार मेलामा’ र ‘पर्लनी जारिमा’ जस्ता गीतहरू श्रोतामाझ चर्चित छन्। यतिखेर उनी विभिन्न स्टेज कार्यक्रममा आफ्नो दमदार प्रस्तुति दिँदै नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेका छन्।

प्रतिक्रिया