कास्की प्रहरीले विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट विदेशी मुद्रासहित ७५ लाख ९६ हजार रुपैयाँ बरामद गरिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका १३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका खेमराज पौडेल छन्।
उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो। पक्राउ परेकाहरू लामो समयदेखि संगठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको एसपी ओलियाले जानकारी दिए।
सबैजनालाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिइ विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने ओलियाले बताए।