प्रधानमन्त्री केपी शर्मा ओलीले केही युवाहरूको निजी प्रयासले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार भएको दाबी गरेका छन्।
केही युवाले प्रविधिमा आधारित भएर देशभरिका लागि कक्षा सञ्चालन गरेपछि नतिजामा सुधार आएको उनको भनाइ छ।
एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा आयोजित विश्व आईटी सम्मेलनमा गएराति मन्तव्य दिँदै ओलीले प्रविधिको सदुपयोग भए केसम्म गर्न सकिन्छ भनेर उदाहरण दिने क्रममा यो प्रसंग निकालेका हुन्।
ती युवा को हुन् भन्ने नखुलाए पनि ओलीले नित्तान्त निजी प्रयासमा गरिएको यस पहलले नै एसईईको नतिजामा १४ प्रतिशत सुधार आएको दाबी गरे।
‘यो नित्तान्त निजी प्रयास हो, हाम्रा युवाहरूको,’ उनले थपे, ‘त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो। हामी युवाहरूलाई जहाँ सेवा पु¥याउँछौं भनेको छ, त्यहाँँ इन्टरनेट सर्भिस उपलब्ध गराइदियो, त्यस हिसाबले प्रयास गर्दाखेरि ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तीर्ण भए। ४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसईईको नतिजामा उन्नति भयो।’
यसैगरी शिक्षाका अलावा स्वास्थ्य र क्षेत्रमा पनि प्रगति भइरहेको ओलीले बताए।
‘यो हामीले देखेका छौं, सानो खर्चबाट देशभरिको लाखौँ विद्यार्थीहरूको संख्यामा १४ प्रतिशतले अभिवृद्धि भयो,’ ओलीले भने, ‘उत्तीर्ण संख्या बढ्यो। तसर्थ, यसै गरेर हामीले अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता कुराहरू पनि विभिन्न हस्पिटलहरूबाट मद्दत गरेका छौं र साना हस्पिटलहरूले ठूला हस्पिटलहरूबाट विशेषज्ञ सेवाहरू लिन सकिरहेका छन्। त्यो हामी आफैँले प्रत्यक्ष यी केही वर्षहरूमा मात्रै अनुभव गरेका छौं।’
ओलीको पूरा मन्तव्य यस्तो छ–
आज सूचना र सञ्चार प्रविधि (आईसीटी अथवा आईटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आईटीबिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं।
पहिलो कुरा, आईटीको प्रयोग केका लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न हो।
सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीको रूपमा आईटीलाई प्रयोग गर्न चाहन्छौं। आईटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ। आईटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ। टेक्नोलोजी भनेकै त्यही हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ। नवीनता त्यसको लागि आवश्यक छ र नवीनता दिन्छ।
यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्दछ। हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्दछ। यही कुरालाई ध्यानमा राखेर हामीले आईटीलाई डिजिटल नेपालको नाराका साथ अगाडि बढाएका छौं।
सिंगै देशलाई डिजिटलाइज्ड गर्ने र त्यसको अधिकतम् सदुपयोग गर्ने। त्यसैअनुसार नै म अघिल्लोपल्ट प्रधानमन्त्री हुँदैदेखि डिजिटल नेपाल फ्रेमवर्क बनाएका थियौं। अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले फ्रेमवर्क टु जिरो अर्को चरणमा प्रवेश गरेका छौं र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदै छौं।
यस प्रविधिको प्रयोगलाई शिक्षा, स्वास्थ्य र अरु विभिन्न क्षेत्रहरूमा पनि यसको सदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा म आफैँ पनि क्रियाशील रहेको छु। सरकार क्रियाशील रहेको छ र हामी हरेकले यस सन्दर्भमा प्रयास गर्नुपर्दछ।
हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने, गत वर्ष नेपालको एसईईको परीक्षाको नतिजामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो र गत वर्षबाट हामीले सुरुदेखि नै यसलाई ७० प्रतिशत पुर्याउने भनेका थियौं। पछि हामीले केही संशोधन गर्नुपर्यो र ६० देखि ६५ प्रतिशतसम्म पुर्याउँछौँ भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो। त्यसका निम्ति एउटा अभियान चलाउनुभयो। देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालय विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, विद्यार्थीहरूलाई, अभिभावकहरूलाई प्रेरित गर्नुभयो। र, देशभरि दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकै ठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो। पछि हामीले ६० देखि ६५ प्रतिशतको बीचमा नतिजा निकाल्छौं भन्यौं।
यो नित्तान्त निजी प्रयास हो, हाम्रा युवाहरूको। त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो। हामी युवाहरूलाई जहाँ सेवा पुर्याउँछौं भनेको छ, त्यहाँँ इन्टरनेट सर्भिस उपलब्ध गराइदियो, त्यस हिसाबले प्रयास गर्दाखेरि ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तीर्ण भए।
४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसईईको नतिजामा उन्नति भयो। यो हामीले देखेका छौं, सानो खर्चबाट देशभरिको लाखौँ विद्यार्थीहरूको संख्यामा १४ प्रतिशतले अभिवृद्धि भयो, उत्तीर्ण संख्या बढ्यो। तसर्थ, यसै गरेर हामीले अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता कुराहरू पनि विभिन्न हस्पिटलहरूबाट मद्दत गरेका छौं र साना हस्पिटलहरूले ठूला हस्पिटलहरूबाट विशेषज्ञ सेवाहरू लिन सकिरहेका छन्। त्यो हामी आफैँले प्रत्यक्ष यी केही वर्षहरूमा मात्रै अनुभव गरेका छौं।
मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढङ्गले यस क्षेत्रमा प्रगति गरेका छौँ। एउटा राम्रो पक्ष के छ भने हामीसँग जनसांख्यिक लाभको अवस्था राम्रो छ। त्यसलाई हामीले यस क्षेत्रमा प्रयोग गर्न सक्छौँ। किनभने, हाम्रा युवाहरू आज आम रूपमा भन्ने हो भने डिजिटल फ्रेन्ड्ली छन्। अथवा डिजिटल क्षेत्रमा, आईटी सेक्टरमा भन्ने हो भने उनीहरू कमसेकम शिक्षित छन्। उनीहरूले विभिन्न ढंगले त्यसबाट नलेज लिन र नलेज सम्प्रेषण गर्न सक्छन्।
त्यसकारण नवप्रवर्तनका कुराहरू, इनोभेसनका कुराहरू अथवा अरु रिसर्चका कुराहरूदेखि लिएर आईटीको प्रयोगले हामीलाई धेरै ठूलो मद्दत पुगिराखेको छ। र, हामी समाज परिवर्तनका लागि, मान्छेको विकासका लागि, अर्थतन्त्रको विकासका लागि, शिक्षा, स्वास्थ्य र सबै समाजिक क्षेत्रको विकासका लागि र समाजमा जनतालाई सेवा सुविधा पुर्याउनका लागि यी कुराहरूमा काम गरिराखेका छौँ।
यो सँगसँगै केही कमजोरीका पक्षहरू, विकृतिका पक्षहरू र विज्ञान प्रविधिको प्रयोग ठीक ढंगले गर्न जानेनन् भने, मेसिन चलाउँदा ठीक ढंगले चलाइएन भने त हात काटिदिन्छ। त्यो त मेसिन भनेको ठीक ढंगले चलाउने कि नचलाउने भन्नेमा निर्भर हुने कुरा हो।
अहिलेको दुनियाँमा यस इन्फर्मेसन टेक्नोलोजीको राम्ररी सदुपयोग मात्रै भएको छ भन्न सकिँदैन। खासगरी इन्फर्मेसनको सेक्टरमा, मिस इन्फर्मेसन, डिस इन्फर्मेसनजस्ता कुराहरू पनि यसबाट केहीकेही क्षतिका कुराहरू पनि भइराखेका छन्। समाजलाई अलि विकृति बढाउने खालका कुराहरू पनि भइराखेका छन् र यस्ता कुराहरूप्रति हामी सजग छौँ।
सबै कुरा हुन पाउनु पर्दछ। वास्तवमा यो प्रेस स्वतन्त्रता, इन्फर्मेसनको स्वतन्त्रता सबै कुरा हुनुपर्दछ तर अनियन्त्रित र समाजलाई हानि गर्ने गरी होइन, समाजलाई फाइदा पुग्ने गरी यी कुराहरू हुनुपर्दछ।
समाजका लागि आईटी, विकासका लागि आईटी, राष्ट्रिय एकताका लागि आईटी, विश्व शान्तिको पक्षमा आईटी, सूचना मनोरञ्जनका लागि आईटी, शिक्षाका लागि आईटी, स्वास्थ्यको लागि आईटी। यसो भएर हामीले आईटीलाई सदुपयोग गर्न सक्नुपर्दछ, राम्ररी।
समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो। त्यो आकांक्षा परिपूर्ति गर्नका लागि, त्यसलाई प्राप्त गर्न, त्यसलाई गन्तव्य बनाएर हामी हिँडिरहेका छौं र त्यसको प्राप्तिका लागि सुशासन र विकास, तीव्रता, सुदृढता र तीव्रताका साथ अगाडि बढाउन जरुरी छ। त्यसमा आईटीको भरपूर मद्दत लिन जरुरी छ। यो अत्यन्तै उपयोगी छ।
तसर्थ, हामी यसको सदुपयोग गर्दै देशका लागि, जनताका लागि, समाजका लागि र मानव जातिका लागि यसको सदुपयोग गर्ने, सुशासन र विकासका लागि सदुपयोग गर्ने काम गर्दै अगाडि बढ्ने यस दिशामा हामी लागिराखेका छौँ।
यस सन्दर्भमा तपाईंहरूले आयोजना गर्नुभएको विश्व आईटी सम्मेलन २०२५, ले अवश्य नै ठूलो योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यही विश्वासका साथ म तपाईंहरूलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु। तपाईंहरू यस दिशामा अझ तीव्रताका साथ अगाडि बढ्न सक्नुहोस्, अझ ठूलो योगदान गर्न सक्नुहोस् र यसका निम्ति हामीले कानुुन बनाएका छौं। भर्खरै हामीले एआई पोलिसी तय गरेका छौं। यी सबै कुराहरूको उपयोग गर्नुस्। हामीले भर्खरै कानुनी हिसाबले नै यहाँको आईटी उत्पादनलाई निर्यात गर्न सहजै सक्ने कुरा, यहीँ बसेर लाभ लिन सक्ने कुरा र बाहिर त्यसका निम्ति कम्पनी खोल्न सक्ने कुरा, विदेशमा कम्पनी खोल्न सक्ने कुरा आदि कुराहरूमा पनि कानुन निर्माण गरेरै अगाडि बढाएका छौँ। तसर्थ म यहाँहरू सबैमा यस कामलाई सदुपयोग गर्ने दिशामा सोचेर अगाडि बढ्न आग्रह गर्न चाहन्छु।