"क्यानडा पोस्टका श्रमिकहरू निर्णायक मोडमा : नयाँ सम्झौतामा मतदान सुरु"

akabarenews.com

ओटावा — क्यानडा पोस्टका यूनियनमा आबद्ध श्रमिकहरू सोमबारदेखि क्राउन निगमको तर्फबाट आएको पछिल्लो श्रम सम्झौता प्रस्तावमा मतदान गर्दैछन्।

क्यानडियन युनियन अफ पोस्टल वर्कर्स (CUPW) ले श्रमिकहरूलाई उक्त प्रस्ताव अस्वीकार गर्न आग्रह गरेको छ।

करीब ५५,००० जना श्रमिकहरूको प्रतिनिधित्व गर्ने यूनियन र क्यानडा पोस्टबीच एक वर्षभन्दा बढी समयदेखि वार्ता चलिरहेको थियो, तर हाल अवस्था गतिरोधमा पुगेको छ।

संघीय रोजगारी मन्त्री प्याटी हाजडुले क्यानाडा इन्डस्ट्रियल रिलेसन्स बोर्डलाई हस्तक्षेप गरेर क्यानडा पोस्टको पछिल्लो प्रस्तावमा मतदान गराउन आग्रह गरेपछि यो मतदान प्रक्रिया सुरु भएको हो।

मतदान साउन १७ गते (अगस्ट १) सम्म खुला रहनेछ।

प्रस्तावमा चार वर्षमा झण्डै १३ प्रतिशत तलब वृद्धि समावेश गरिएको छ, तर क्यानडा पोस्टले सेवा टिकाउन आवश्यक भन्दै थप अंशकालिक (part-time) श्रमिकहरू पनि ल्याउने उल्लेख छ।

क्यानडा पोस्टका प्रवक्ता जोन ह्यामिल्टनका अनुसार, “हामी आशा गर्छौं हाम्रा कर्मचारीहरूले यी प्रस्तावहरूलाई स्थायित्वको बाटोका रूपमा देख्नेछन् र तिनीहरूलाई नयाँ सामूहिक सम्झौता स्वीकार्नेछन्।”

उहाँले थप भन्नुभयो, “यदि मतदान सकारात्मक भयो भने यो सम्झौता सन् २०२८ जनवरी ३१ सम्म लागू हुनेछ। यदि अस्वीकृत भयो भने अन्य केही भन्न सकिन्न, तर अनिश्चितता भने जारी रहनेछ।”

यूनियनका अध्यक्ष जान सिम्पसनले भने, “एक दृढ अस्वीकृत मतले यो प्रस्ताव मात्र अस्वीकार गर्दैन, बरु श्रम वार्ताको प्रक्रियाको सम्मान पनि सुरक्षित राख्छ।”

क्यानाडियन फेडेरेसन अफ इन्डिपेन्डेन्ट बिजनेस (CFIB) द्वारा सोमबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार, यदि पोस्टल स्ट्राइक भयो भने ६३ प्रतिशत व्यवसायहरूले क्यानडा पोस्टलाई सधैंका लागि छोड्ने सम्भावना छ।

सन् २०२४ को हड्तालपछि करिब १३ प्रतिशत साना व्यवसायहरूले क्यानडा पोस्टको सेवा उपयोग गर्न छाडिसकेका छन्।

CFIB का अनुसार, त्यस बेलाको श्रम अवरोधका कारण साना व्यवसायहरूलाई दैनिक ७५ देखि १०० मिलियन डलरसम्मको क्षति भएको थियो।

सर्भे अनुसार, ७० प्रतिशतभन्दा बढी व्यवसायहरूले डिजिटल विकल्प प्रयोग गर्न ग्राहकलाई प्रेरित गरे, ४५ प्रतिशतले निजी कूरियर सेवा प्रयोग गरे भने २७ प्रतिशतले आफ्नो डाक सेवा ढिलो गरे।


स्रोत: द क्यानाडियन प्रेस, पहिलो पटक प्रकाशित: जुलाई २१, २०२५

प्रतिक्रिया