सांसद गुरुङको प्रश्न- पोखरा रंगशालामा फ्लड लाइट र स्वीमिङ पुल किन छैन?

akabarenews.com

नेकपा एमालेका सांसद मनबहादुर गुरुङले पोखरा रंगशालामा हालसम्म पनि फ्लड लाइट र स्वीमिङ पुल जस्ता आधारभुत पूर्वाधार नभएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले रंगशालामा फ्लड लाइट नहुँदा साँझपख हुने खेल गतिविधिहरु हुन नसकेको र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुन नसकेको उल्लेख गरे।

‘पोखरा रंगशालामा आजसम्म फ्लड लाइट र स्वीमिङ पुल जस्ता आधारभुत पूर्वाधार नहुनु गम्भीर विषय हो,’ गुरुङले भने, ‘यसले साँझपख हुने खेल गतिविधिहरु हुन सकेको छैनन् भने पौडी खेल जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखरामा हुन सम्भव नै छैन। पोखरालाई खेल पर्यटन राजधानीको रुपमा विकास गर्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानीय मौलिक प्रतिभाहरु पलायन हुनुपरेको छ। खेलकुद पूर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्छ।’

उनले ढिला नगरी पोखरा रंगशालामा फ्लड लाइट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना यथाशीघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराए।

प्रतिक्रिया