पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मोरङको कानेपोखरी बजार हुँदै एक समयको कलकल बग्ने खोला अहिले सुक्खा भइसकेको छ। लगातार केही वर्षदेखि पानीविहीन बन्दै गएको यो खोलाबारे स्थानीयवासीको भावुक भनाइ छ — "पहिले खोला देख्दा जीउभरिको थकान बग्थ्यो, अहिले त खोई खोला? सुक्यो!"
एक समयमा १२ महिनै कलकल बग्ने यो खोला अहिले बालुवा र ढुंगाले भरिएको छ। गर्मी होस् कि जाडो, वर्षा होस् कि खडेरी — पानीको सानो धारा पनि देखिँदैन। यसरी खोलाको रूपान्तरण हेर्दा धेरै स्थानीयको मन अमिलो बनेको छ।
७२ वर्षीय स्थानीय वृद्ध भीमबहादुर राई भन्छन्, “हामी सानामा खोलाको पानि खान्थ्यौं, हाम्रा बुबा खोलामा नुहाउँथे, गोरु धुने खोलो यही हो — अब त बालबालिकालाई देखाएर पनि भन्न सकिन्न, 'यही हो हाम्रो खोला’ भनेर।”
खोलाको सुकाइका पछाडि वन कटान, अनियन्त्रित दोहन, जनसंख्या र शहरीकरणको दबाब, र जलवायु परिवर्तनका असरहरू प्रमुख कारण मानिन्छन्। स्थानीयहरूका अनुसार खोलामा पानी आउँने मुहान नै हराउँदै गएको छ।
वातावरणविद् अर्जुन निरौलाले चेतावनी दिँदै भन्छन्, “स्थानीय निकायले समयमै पहल नगरे, यस्ता खोलाहरू सधैंका लागि हराउने छन्। यो केवल खोलाको समस्या होइन, जल चक्र र जीवनशैलीमा पर्ने गम्भीर असर हो।”
अब प्रश्न उठेको छ — खोई समाधान? यदि तुरुन्तै संरक्षणका कार्यक्रमहरू नथालिए, ‘खोई खोला?’ भन्ने यो प्रश्न एक दिन ऐतिहासिक गुनासो मात्र बन्नेछ।